२०८१ असोज ३, बिहिवार , ११:५३:१४ बजे

Sajhamanch
'

गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !

Author Image
आइतवार, जेठ २८, २०८०

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन ।

नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो ।

भारतीय दूतावासले अनुदान स्वरूप वजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि एक दशक पार गरिसकेको छ । तर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ (गौशाला)का रूपमा परिणत भएको हो ।

निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएको छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतित भइसकेको छ ।

कूल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागत इस्टिमेटमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनुपर्ने थियो । तर १३ वर्षे अवधि पूरा हुँदैगर्दा अहिलेसम्म निर्माणको काम सकिएको छैन । सो विषयमा नगर प्रशासनले कुनै चासो राखेको अवस्था पनि छैन । दाताबाट आएको करोडौं अनुदान वेवारिसे भएको नगरबासीको दुखेसो छ ।

भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर १ (हाल भद्रपुर ५) स्थित नयाँ बजारमा मेची नदीको डिलमा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण सुरु गरेको १३ वर्ष भइसकेको छ । ठेकेदारले बल्लतल्ल यस अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरेको छ । कोल्ड स्टोरेज भित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन सकेको छैन ।

गृह मन्त्रलायले काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेपछि ठेकेदार सोनी दुई वर्ष अगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि रोकिएको थप काम केही गरेको छैन । ‘गृहले कारवाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्र्किवहीन बनेको नगरपालिका स्रोतको दाबी छ । कोल्ड स्टोरेजमा केही महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिन्छ ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गराइ सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पुर्याउन सकेका छैनन् । केही वर्षयता भद्रपुर बजार दक्षिणका चौपाया राख्ने गौशाला बन्दै गएको शीतभण्डार निर्माण सम्पन्न हुने नहुने अनिश्चित देखिएको छ ।

सो विषयमा नगरप्रमुख गणेश पोखरेलसँग जिज्ञासा राख्दा शीत भण्डार निर्माणको कार्य अन्तिम चरणमा रहेकोले प्राविधिक पक्षका वारेमा सरोकारवालासँग छलफल चलाई सञ्चालनका लागि हस्तान्तरण प्रक्रियामा लैजाने तयारी गरिरहेको बताउँछन् । उनले चौपाया राखिएको सम्बन्धमा जानकारी नभएको भन्दै बुझेर चौपाया भए हटाउने जानकारी दिए ।

यस्तो थियो शीतभण्डार निर्माणको भित्री चलखेल

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पुर्याउन नेपाल–भारत मैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार–हतार नेपाल–भारत मैत्री संघमा आवद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समावेश गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए ।

उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकाय मार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले साविक भद्रपुर १ मा रहेको गोविन्द सरियाको झण्डै एक विगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको हो ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर