२०८१ असोज ३, बिहिवार , १२:०२:४० बजे

Sajhamanch
'

बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति

Author Image
आइतवार, जेठ २८, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सभामुखबीच लामो छलफल भएपछि बैठक सुरु भएको हो । बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर संसद् र नागरिकलाई लाजमर्दो बनाएको र देशलाई अर्बौँ रुपैयाँ घाटा भएको भन्दै आपत्ति जनाए ।

गिरीले पोहोर पनि बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश भएको र यो वर्ष पनि त्यस्तै क्रियाकलाप भएको भन्दै अर्थमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा संसद् चल्न नदिने चेतावनी दिए । उनले संसदीय छानबिन समिति गठन गर्न माग पनि गरेका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णीम वाग्लेले नेपालमा विधि पुर्याएजस्तो गरेर र कानुन पालना गरेजस्तो गरेर अख्तियारले समेत समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको माहामारीले देशलाई खोक्रो बनाउन थालेको बताए ।

उनले बजेट निर्माण अघि नै आफूहरुले अर्थमन्त्रीलाई सचेत गराए पनि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको खबर आएको भन्दै यसबारे जवाफ मागेका थिए ।

तर, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने गएको वर्षको फागुनमा सरकारले नै भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई नियुक्त गरेको र अहिले उनैलाई नै बजेट निर्माणमा सहभागी गराएको बताए ।

सरकारले नै नियुक्त गरेको व्यक्तिलाई बजेटको टाइपमा राख्नु कसरी भ्रष्टाचार भयो भनेर प्रश्न सोधेका थिए ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर