२०८१ असोज ३, बिहिवार , १२:००:४२ बजे

Sajhamanch
'

‘सरकारले नै पठाए केही छैन, भुटानीसँग पैसा लिन मिल्दैन भनेको थिएँ’ : टेकनाथ रिजाल

Author Image
आइतवार, जेठ २८, २०८०

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी गराएको स्वीकारेका छन् ।

सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग कुनै पनि रकम लिन मिल्दैन भनेको उनले बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा बयान दिने क्रममा उनले भनेका छन्, ‘निजहरुलाई सहज र सरल रुपमा अमेरिका वा अन्य देश उनीहरुको रोजाइमा जाने व्यवस्था मिलाउनु हुन्छ भने मेरो समर्थन रहेको छ, यसका लागि मलाई कुनै रकम पनि चाहिँदैन र त्यस्तो कुरा मलाई नभन्नु होला भनेको थिएँ ।’

तर, त्यसको सुनिश्चितताका लागि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गराइदिन भनेको उनले बताएका छन् । ‘ओली र प्रचण्डसँग भेट भएपछि मात्र म ढुक्क हुन्छु, नत्र मलाई यो सरकारी कानुनबारे सबै ज्ञान हुँदैन भनेको थिएँ’, रिजालले भनेका छन्, ‘तर, निजहरुले मलाई केपी ओलीसँग भेट गराउन सकेनन् ।’

पछि झापाबाट बोलाएर एयरपोर्टमा गोविन्दकुमार चौधरी लिन गएका रिजालले बताएका छन् । ‘निजले टोपबहादुर रायमाझीको घरमा लगी शरणार्थीको विषयमा कुराकानी हुँदा क्लियर नभएपछि प्रचण्डसँग भेट गराइदिने भनेर प्रचण्ड निवासमा पुर्‍याएका थिए’, उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल गएका थियौं ।’

प्रचण्डसँग भेटघाट हुँदा उनले सानु भण्डारी र केशवप्रसाद दुलाललाई को हो भनेर सोधेको रिजालले बताएका छन् । ‘मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापनको सम्बन्धमा कुराकानी गर्न आएको भन्दा प्रचण्डले आज एकदमै व्यस्त रहेको छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो’, रिजालले भनेका छन् ।

तर, भण्डारीबाट रकम लिएको भन्ने आरोप चाहिँ रिजालले अस्वीकार गरेका छन् । भुटान मानवअधिकार संगठनको सदस्यता कार्डमा सही छाप गर्न सानु भण्डारी र दुलालले भनेको उनले बताएका छन् । ‘छुट भएको भुटानीहरुको अभिलेख भएको कार्ड भनी निजहरुले भनेको हुँदा सही गरेको हुँ’, रिजालले भनेका छन्, ‘भण्डारी र दुलालले कार्डहरु मन्त्रालयबाट ल्याएको भनेका थिए ।’

अनलाइनखबरबाट

Views: 36
आइतवार, जेठ २८, २०८० | राष्ट्रिय समाचार

प्रतिक्रिया (०)

सम्बन्धित खबर