२०८१ असोज ३, बिहिवार , ०८:०५:४६ बजे

Sajhamanch
'

सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी

Author Image
आइतवार, जेठ २८, २०८०

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ ।

सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधबार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक सदस्यसँग सल्लाह र सुझाव लिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । “अहिलेको वित्तीय संकटको अवस्थामा सहकारीबारे विभिन्न भ्रम सिर्जना भइरहेको छ”, उनले सदस्यहरुमाझ भने, “सहकारी अभियान विरुद्धको भ्रम चिर्न र संस्थाको वस्तुस्थिति बारे सदस्यलाई जानकारी दिन कार्यक्रम गरेका हौं ।” संस्थासँग सदस्यको अपेक्षा र संस्थाको श्रीवृद्धिमा गर्नुपर्ने कामको बारेमा सुझाव लिन सदस्य शिक्षा कार्यक्रम गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा सेवा केन्द्र धुलाबारीका शेयर सदस्य लक्ष्मीप्रसाद पाठक, अम्बिका कोइराला, जिना खत्री क्षेत्री, सुमिना खनाल, तरादेवी अधिकारी, शारदा ढकाल लगायतका सदस्यले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतको ब्याजदर, वित्तीय अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा उपस्थित सदस्यहरुले आफूले संस्थाबट पूर्ण जानकारी प्राप्त गरिरहेकाले सन्तुष्ट रहेको र बाहिरी हल्लाका पछाडि नलाग्नेसमेत बताएका थिए ।

सदस्यहरुबाट आएको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष न्यौपानेले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतमा पाइने ब्याज, संस्थाको वित्तीय अवस्था, सञ्चालक समितिले लिएको ऋणको अवस्था लगायतका बारेमा विवरण सार्वजनिक गरेका थिए । उनले सदस्यले नै गरेको बचत अर्को सदस्य ऋणको रुपमा पाउने भएकाले नियमित किस्ता गर्न आग्रह पनि गरे ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए भने स्वागत सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले गरेकी थिइन् ।

कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, शिक्षा समिति सदस्य सन्तोष शर्मा र सेवा केन्द्र धुलाबारीका कर्मचारीहरुको सहभागिता थियो ।

मुल कार्यालय बिर्तामोड र पाँचवटा सेवा केन्द्र धुलाबारी, धाइजन, शनिश्चरे, दुर्गापुर र चैतुबारीमार्फत् सेवा प्रदान गर्दै आएको शिक्षा सहकारीले क्रमशः सबै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम गर्ने संस्थाका सचिव खतिवडाले बताएका छन् ।

Views: 33
आइतवार, जेठ २८, २०८० | सहकारी

प्रतिक्रिया (०)

सम्बन्धित खबर